३६ वर्षसम्म एउटै गाउँमा पढाएका भोला सरलाई चेलाहरुको गुरुदक्षिणा

पोखरा । एउटै गाउँमा ३६ वर्ष पढाएका भोला सिंह अर्थात गाउँको एक विद्यालयका परदेशी सर । जसले पढाए एउटै विद्यालयमा ३६ वर्ष । बिर्सिएर आफ्नै जिन्दगीका जोड-घटाउहरु, सिकाए नानीहरुलाई हिसाब-किताब । वरको फेदमा बसेर पढेका विद्यार्थी हेरेर गरे मनमा सुखको आविस्कार र बताए उनीहरुलाई विज्ञानका आविस्कारहरु ।

धेरैका नजरमा परदेशी बने तर देखाइरहे ठूलो मान्छे बन्ने सपना । घटाएर आफ्नै जिन्दगीको ऊर्जा, भरिरहे नानीहरुका आँखामा उज्यालो । जसले भरिदिए त्यो बेला गणित र विज्ञान मास्टरको अभाव र आधा जीवन यतै बिताइदिए । आफैं रित्तिएर भरिदिए विद्यार्थीलाई ज्ञानको घडा ।

शुक्रबार गुरुपूर्णिमा मनाइरहँदा पोखरा-३३ शान्ति उदय माविका उनै भोला गुरु भने गोरखपूर फर्किन गुन्डा कस्दै थिए ।

एउटा व्यक्ति जागिरे बनेर आउँदा केके सोचेर आउँछ र फर्किँदा केके लिएर फर्किन्छ ? जागिर खाने र तलब लिएर फर्किनेमात्रै हुन्छ कि अरु पनि केही ? घरदेश र परदेशमा काम गर्दाका फरक केके हुन्छन् ? भोला सर अलि भावुक भए ।

‘जीवनै यतै बित्यो । त्यो बेलाको गाउँ अहिले सहर बन्यो । आउँदा जुँगाका रेखीमात्र थिए, अहिले दारीकपाल फूले, सबैभन्दा ठूलो त आधा जीवन बित्यो,’ उनले खुइ..य काडे, ‘आउँदा ठूलो आश थिएन । जाँदा पनि पैसाको ठूलो पोको पारेर फकिँदै छुइन । रित्तै आएँ, फर्किँदा केही थान भाँडाकुँडा, लत्ता कपडा, किताब र डायरी लिएर जाँदैछु। सबैभन्दा धेरै यहाँको माया र सम्झना लिएर जाँदैछु ।’

दरबन्दीमा आएर पनि सट्टा दरबन्दीमा परेपछि उनले कुनै उपदान पाएनन् । सरकारी सुविधा र कुनै प्रोत्साहन भत्ता पनि पाएनन् ।

नेपाल सरकारको जागिरे भएर लामो समय पढाएका भोला सर अहिले भारतीय भर फर्किँदैछन् ।

छुट्न त यहाँ उनका थुप्रै कुराहरु छुटेका छन् । जीवनका रंगहरु यतै छुटे । चक डस्टर घोट्दा-घोट्दै पाखुराका जोश यतै बिलाइगए । जवानीका पदचापहरु यतै हराइगए । यहाँका उकालीओरालीमा पदचापहरु छुटे । दुनियाँ नियाल्ने आँखाहरु हुर्कँदै गरेका नानीहरुमा अल्झे । विद्यार्थीका भविशयसँग केही आफ्ना रहरहरु जोडिए । २५ वर्षदेखि ६१ वर्षबीच उमेरका इट्टाहरु यहीँको स्कुल चिठ्न खसिगए ।

एउटा देशको भूगोल, सीमाना नाघेर आइपुगेका व्यक्तिले पनि कसरी त्यो समाजमा योगदान पुर्‍याउन सक्छन् र त्यो समाजको हिस्सेदारी कसरी बन्छन् भन्ने उदाहरण हुन् भोला सर ।

उनले पढाएका विद्यार्थी अहिले देशका विभिन्न निकायमा छन् । निजामति कर्मचारीदेखि सांसदसम्म उनका विद्यार्थी पुगेका छन् । सांसद रवीन्द्र अधिकारी उनका विद्यार्थी रहेछन् । आफू जहाँको तहीँ रहे पनि पढाएका विद्यार्थी विभिन्न ठाउँमा पुगेका देख्दा आनन्द लाग्ने उनले सुनाए ।

गोरखपूरदेखि भरतपोखरीसम्म

ऊबेला गणित र विज्ञान पढाउने शिक्षकको अभाव हुने रहेछ । भारतका थुप्रै ठाउँदेखि नेपालका विभिन्न ठाउँमा शिक्षक आउँथे ।
विभिन्न सम्बन्धबाट उनीहरुलाई झिकाइन्थ्यो ।

त्यसरी नै तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशिधर भण्डारी र शिक्षक कमलप्रसाद आचार्य उनलाई लिन भारतको गोरखपूर पुगेका रहेछन् । भोला सिंहका एक आफन्तले स्याङ्जाको एक विद्यालयमा पढाउँदा रहेछन्, उनैमार्फत भण्डारी र आचार्य उनीकहाँ पुगेका थिए ।

‘जीवनलाई फर्केर हेर्दा अनौठो लाग्छ । कहाँको मान्छे कहाँ आइपुगें र यत्रो वर्ष रमाएँ,’ भोला लामो सास फेर्छन्, ‘जतिबेला मलाई खोज्दै तत्कालीन समितिका अध्यक्ष भण्डारी सर र आचार्य पुग्नुभयो । मैले हुन्न भन्नै सकिनँ । यत्रो लामो समय यतै बिताउँला भन्ने सोचेकै थिइनँ तर बिताएँ ।’

आइएस्सी, बिटिसी गरेर बसेका भोलाले भरतपोखरी आउनुअघि उनी त्यहीँको बोर्डिङ स्कुलमा पढाउँदा रहेछन् । उनी २०४० सालमा उनी वरपाण्डेथुपको शान्ति उदय माविमा म्याथ र साइन्स पढाउने आएपुगे, ७ सय ४० रुपैयाँ तलब सुविधा लिएर ।

उनी आउँदा भरपोखरा गाउँ थियो, अहिले पोखरा महानगरको वडा नम्बर ३३ भएको छ । विद्यालयमा विद्यार्थीको चाप थियो तर राम्रो पूर्वाधार थिए । धेरै विद्यार्थी भएर वरको फेदमा बसेर अध्यापन गराएको उनी सम्झन्छन् । ‘गाउँमा बाटो थिएन, पूर्वाधार राम्रो थिएन तर विद्यार्थीको चाप थियो, ३-४ घन्टा लगाएर विद्यार्थी पढ्न आउँथे’ उनले ती दिन सम्झे, ‘कोर्ष उता र यताको पूरै मिल्थ्यो । बरु म आउँदा सुरुमा भाषाको समस्या पर्‍यो तर एक दुई महिनामै सिकें । विद्यार्थी गणित र विज्ञानमा साह्रै कमजोर थिए ।’

भोलाको अर्को रोचक कुरा पनि सुनाए । त्यतिबेला केटीहरुले अप्सनल म्याथ पढ्न सक्दैनन् भनेर एक जनाले पनि पढ्दा रहेनछन् ।

‘नानीहरुलाई अप्सनल म्याथ तिमीहरुले लिने विषय होइन, सक्दैनौं भन्दा रहेछन्,’ उनले भने, ‘म आएपछि बल्ल महिलाले पनि लिन सक्ने बनाए । पहिलो चोटी एक जनामात्रै नानी निस्किइन्, उनी अहिले नेपाल सरकारकै जागिर खाइरहेकी छन् ।’
त्यतिबेला आसपासका अन्य नहुँदा कास्की, तनहुँ र स्याङ्जा तीन जिल्लाका विद्यार्थी यो विद्यालयमा पढ्न आउने उनले बताए ।

अनि सरकारी विद्यालयको गुणस्तर खस्कियो

उनी आउँदा शान्ति उदयमा १२ सयसम्म विद्यार्थी पढ्थे । अहिले जम्मा साढे २ सयको हाराहारीमा विद्यार्थी छन्, कक्षा १२ सम्ममा ।

विद्यालयको भौतिक पूर्वाधार पहिलेजस्तो कमजोर छैन, प्रशस्त कक्षाकोठा छन तर, विद्यार्थी छैनन् । किन यसरी खस्कियो त विद्यालय ?

लामो अनुभवको निष्कर्ष सुनाए । पहिलो, शिक्षकले जागिरमात्रै सम्झे तर शैक्षिक सुधारमा जोड दिएनन् । दोस्रो, शिक्षकले सबैभन्दा बढी राजनीति गरे, पढाउनमा जोड दिएनन् । तेस्रो, सरकारी विद्यालयका शिक्षकले सामाजिक मर्यादा गुमाए । ‘शिक्षकले राम्रोसँग नपढाएकै कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किएको देखें मैले । शिक्षकले पढाउनभन्दा बढी राजनीतिमा जोड दिए,’ भोलाले भने, ‘पहिले सरकारी विद्यालयका शिक्षकलाई भगवान ठान्थे, शिक्षकको आचरण खराब हुँदै गएका कारण अहिले गन्दैनन् ।’

पहिले ३ जिल्लाका विद्यार्थी पढ्न आउने विद्यालय क्षेत्रबाटै निजी विद्यालयमा पढ्न लैजाने २ वटा बस छुट्दा उनको मन कटक्क खाँदोरहेछ ।

चेलाहरुको गुरुदक्षिणा अभियान

३६ वर्ष पढाएपछि उनले उमेद हदका कारण अवकास पाए । अवकास त पाए तर, अन्य कुनै उपदान र सुविधा नपाउँदा रित्तो हात घर फर्किनुपर्ने अवस्था आयो । यो देखेर उनका पूर्व विद्यार्थीहरुलाई नरमाइलो लाग्यो ।

मासिक ७ सय रुपैयाँमा पढाउन आएका भोलाले भत्तासहित अवकास पाउनुअघिसम्म २४ हजार रुपैयाँ बुझ्थे । तर, फर्किने बेला रित्तो हात नपठाउन पूर्व विद्यार्थीले सामाजिक सञ्जालमा गुरुदक्षिणा अभियान नै चलाए ।

व्यवसायी मोती भुजेलले यो अभियानको नेतृत्व गरे । यो अभियानमा विभिन्न ठाउँबाट ४ लाख ६१ हजार रुपैयाँ जम्मा भएको छ । गुरुपूणिर्माको भोलिपल्ट शनिबार यो रकम उनलाई हस्तान्तरणसहित बिदाइ गर्न लागेको अभियान्ता भुजेलले बताए । ‘यतिमा लामो समय गाउँको विद्यालयमा अध्यापन गराएर रित्तो हात पठाउनु हुँदैन भनेर अभियान चलाएका हौं,’ भुजेलले भने, ‘शनिबार हस्तान्तरण गर्दैछौं । यो एउटा गुरुप्रतिको समर्पण हो ।’

अवकासपछि अब गोरखपूर फर्किएर व्यावसायिक खेती गर्ने योजना भोलाले सुनाए । ‘आधा जीवन यता बिताएँ । अब बुढ्यौली लाग्यो । गाउँ गएर व्यावसायिक केही खेती गरौं कि भन्ने सोचेको छु,’ उनले कुराकानीको बिट मारे, ‘छोरीहरु छन् । ७ वर्षमा बिहे गरेर १३ वर्षपछि घर ल्याएँ । त्यसको दुई वर्षपछि यता आइहालें । कहिलेकाँही छुट्टीमा पुग्नेबाहेक लामो समय यतै बिताएँ । अब बुढेसकालमा त सँगै बस्नुपर्‍यो नि ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close