७१ वर्षे यी पूर्वसांसद भन्छन्ः मृत्युलाई जितें, अब जनतामाझ फर्कने मन छ

काठमाडौं-‘न पार्टीबाट आस छ, न सरकारबाट । ठूलो कुरा मृत्युलाई जितें । अब गाउँ फर्किने इच्छा छ तर खुट्टा राम्रोसँग टेकिएका छैनन्,’ शुक्रबार बिहान तीनकुनेस्थित कोठामा हातका औंला भाँच्दै पूर्वसांसद ७१ वर्षीय नारायणबहादुर कार्कीले भने, ‘बिरानो यो काठमाडौं आएको १८ महिना ११ दिन पुगेछ।’

लामो समय उनले यही अँध्यारो कोठामा बिताए । बाहिर निस्कन सकेका छैनन् । उनलाई कतिखेर गाउँ पुगुँजस्तो भएको छ । भन्छन्, ‘सहरमा कोही आफन्त भएनन् । पीडामा साथ र सहानुभूति दिने कोही निस्किएनन् । घटना भएका बेला सम्झिने धेरै थिए। अहिले सबै पराइ भए।’

०७४ मंसिर १३ गते । यो दिन उनी सम्झन चाहँदैनन् । ०७० सालमा उदयपुर क्षेत्र २ मा कांग्रेसबाट निर्वाचित उनले ०७४ मंसिरको चुनावमा पनि टिकट पाए।चुनावी प्रचार क्रममा उदयपुरगढी गाउँपालिकास्थित दनुवारबेसीतर्फ जाँदै गर्दा उनीसहित ९ जना सवार गाडी नेत्रविक्रम चन्द समूहले राखेको विद्युतीय धरापमा पर्‍यो। उनी र विद्यार्थी नेतृ मीरा कटुवाल गम्भीर घाइते भए। अरू सामान्य घाइते भए।

‘एक सेकेन्डअगाडिपड्किएकाले बाँचिएछ,’ गहभरि आँसु पार्दै उनले भने, ‘थोरै पछि पड्किएको भए मेरो नाम पनि सहिदको सूचीमा मिसिन्थ्यो ।’घटनास्थलमा देख्ने कसैले पनि उनी बाँच्ने आशा राखेका थिएनन्। दाहिने खुट्टा बमले थिलिपितिली बनेको थियो । ‘चिकित्सकले खुट्टाको हड्डी कुहिन सक्ने सुनाए, खुट्टा पनि नीलो हुँदै गएको थियो,’ उनले भने, ‘चिकित्सककै सल्लाहअनुसार खुट्टा काट्न तयार भएँ ।’

उनको दाहिने खुट्टा काम नलाग्ने भएपछि ०७५ जेठ २५ गते त्रिवि शिक्षण अस्पतालमा काटियो।यो अस्पतालमा मात्र दुई पटक गरेर ५ महिना बसें । अहिले सक्कली खुट्टा छैन। नक्कली खुट्टाको सहारामा उभिन सिक्दै छन् । हिँड्न खोज्दै छन् । तीन महिना बढी सेनाको सिहाब सेन्टर एराहिटीमा बसेर लगाएको यो खुट्टा पनि आईसीआरसी संस्थाबाट सहयोगस्वरूप पाएका हुन् । खुट्टा लगाउन पनि उक्त संस्थाले नै सहयोग गरेको थियो।

बिहान ५ बजे श्रीमती देवी उनको सहारा बन्छिन्। हातलाई ‘आड दिने लौरो’ अर्को सहारा हुन्छ। समस्या शौचालयको छ। कमोड भएको शौचालय नभए समस्या हुन्छ। उनको हेरचाह देवीले गर्दै आएकी छन्। यो कथा आजको कान्तिपुरमा विमल खतिवडाले लेखेका हुन्।

उकालो–ओरालो हिँड्न समस्या हुन्छ। सामान्य रूपमा तेर्सो बाटो भने हिँड्न सक्छन् । ‘घरगाउँमा हुँदा सधैं व्यस्त हुन्थें, जनताको घरदैलोमा पुगिन्थ्यो,’ खुट्टा खोलेर झ्यालतिर सुसाउँदै उनले भने, ‘आज एक्लो भएको छु, हराएजस्तो महसुस भएको छ, सबैतिरबाट गुमनाम भएको अनुभूति गरेको छु।’

अहिले गाउँतिर पार्टीको जागरण अभियान चलिरहेको छ । ‘फोन गरेर गाउँगाउँबाट तपाईंलाई सम्झिइरहेका छौं भन्नुहुन्छ,’ उनले भावुक हुँदै भने, ‘कहिले हिँड्न सक्ने भएर गाउँ पुगौंजस्तो भएको छ ।’उनको देब्रे खुट्टाको कुकुर्चामा पनि विस्फोटको असर परेको छ । गोलीगाँठोको हड्डी फुटेकाले त्यसको पनि भर छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close