नगरप्रमुख र उपप्रमुखबीचको विवादले उर्लावारी नगरपालिकामा रमिता प्रदर्शन, कामकाज ठप्प

स्थानीय तहको गठनपछि धेरै स्थानीयवासीमा हर्षको वहार छायो । २ दशक बढी समयदेखि जनप्रतिनिधिविहीन अवस्थामा रहेको स्थानीय तहले जनप्रतिनिधि पाएपछि अब आफ्नो गाउँठाउँको विकास हुन्छ भन्नेमा धेरै ढुक्क थिए र छन पनि । धेरै स्थानीय तहहरुले जनताको त्यही विश्वास जितेर अघि बढिरहेका छन् पनि ।

तर, केही स्थानीय तहहरुमा भने नगरप्रमुख र उपप्रमुखबीचको विवादले रमिता नै देखाउन थालेको छ । नगरप्रमुख र उपप्रमुखबीचको जुँगाको लडाईले कतिपय स्थानीय तहहरुमा विकास निर्माणको काम ठप्प छन भने जनतासंग प्रत्यक्ष सरोकार रहेका व्यक्तिगत कामहरु समेत हुन सकेका छैनन् । एउटै पार्टीबाट निर्वाचित नगरप्रमुख र उपप्रमुखबीच नै तालमेल मिल्न नसकिरहदा फरक फरक पार्टीबीच निर्वाचित नगरप्रमुख र उपप्रमुखबीचको लडाईले नगर तथा गाउँका मुहार फेर्ने कामहरु पनि हुन सकेका छैनन् ।

पूर्वको मोरङ जिल्लामा पर्ने उर्लावारी नगरपालिका अहिले यस्तै विवादको शिकार बनेको छ । हरेक दिन जनता र नगरको काम हुनु पर्ने उर्लावारी नगरपालिकामा दिनहुँ नाराजुलुस निस्कन्छ भने यस नगरको विवाद उच्च अदालत विराटनगरमा पुगेको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख खड्ग फागो र नेकपाबाट निर्वाचित उपप्रमुख लक्ष्मीदेवी भण्डारीबीचको विवादले उर्लावारी नगरपालिकाको कामकाज विगत केही महिनादेखि ठप्प छ । नगरप्रमुख फागोले वहुमत सदस्यलाई विश्वासमा लिएर काम गर्नु पर्नेमा एकलौटी निर्णयबाट अघि बढेको र विकास निर्माणको काममा पनि सल्लाह नगरेको आरोप उपप्रमुख भण्डारीको छ ।

नगरप्रमुख फागोको कामकारवाहीविरुद्ध उपप्रमुख भण्डारीसहित नगरपालिकाका १३ सदस्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेपछि अदालतको आदेशले सबै काम रोकिएको अवस्था छ अहिले उर्लावारी नगरपालिकामा । अदालतको आदेश जे आएपनि मिलेरै अगाडि बढ्नु पर्ने बाध्यात्मक अवस्था विद्यमान छ नगरप्रमुख फागो र उपप्रमुख भण्डारीबीच । यी दुईबीच सहमति नभइ कुनै काम अघि बढ्ने अवस्था छैन उर्लावारीमा अब । वास्तविक र सच्चा हृयदले उर्लावारीको विकासमा लाग्न पनि विवादका दुबै पक्ष एक ठाउँमा उभिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close