झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै सुरु भएको रिले अनसन २०औँ दिनमा

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै जिल्ला प्रशासन अगाडि रिले अनसन सुरु भएको २० दिन पुगेको छ ।

शुक्रबार अनसन सुरु भएको २० औँ दिन पुग्दासमेत सरकारले केही पहल भने गरेको छैन । झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै सुरु गरिएको अनशनमा पालिकाका जनप्रतिनिधि, संघसंस्था र नागरिकहरुले स्वतःस्र्फूत रुपमा सहयोग गर्दै आएका छन् ।

तर सरकारले पुल निर्माणका विषयमा अहिलेसम्म कुनै पनि धारणा बाहिर ल्याएको छैन । पक्की पुल निर्माणका लागि दशकदेखि आन्दोलन गरिरहेकाले आफ्ना मागप्रति नजरअन्दाज नगर्न झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो ।

पुल निर्माण सबैको सरोकारको विषय भएकाले यसमा संघीय सरकारले चासो दिनुपर्ने अनसनमा सहभागी दशरथचन्द नगरपालिका–७ का वडाध्यक्ष एवं नगर प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

झुलाघाट नाकामा पक्की पुल निर्माणको विषयलाई कमजोर नठान्न पनि बैतडीबासीले आग्रह गरेका छन् । आवश्यक परे आफूहरु माईतीघर मण्डलामा रिले अनसन गर्न तयार रहेको संघर्ष समितिले बताएको छ ।

झुलाघाट नाकामा पक्की पुल नहुँदा यो क्षेत्रको आर्थिक विकासमा बाधा पुगेको छ । यहाँका धार्मिक सम्पदाहरुमा आउने भक्तजनहरु सहजै आउन सकिरहेका छैनन् । झुलाघाट नाकामा अहिले डेढ सय वर्ष पुरानो झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ ।

यसैबीच झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै अनसनमा बसेकाहरुलाई बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी र प्रदेश सभा सांसदद्वय लिलाधर भट्ट र प्रेमप्रकाश भट्टले भेटघाट गर्नुभएको छ । झुलाघाटमा पक्की पुल निर्माणको विषय दुई देश र पञ्चेश्वर परियोजनासँग जोडिएको विषय भएकाले उपयुक्त स्थानमा पुल निर्माणका विषयमा छलफल हुने सांसद भण्डारीले बताउनुभयो ।

यदि झुलाघाटमा पक्की पुल निर्माण भएमा सुदूर पश्चिमको पहाडी जिल्लाका नागरिकहरुलाई सहज हुनुका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close