महराले ‘क्लिन-चिट’ नै लिएपनि अब सभामुखमा फर्किने सम्भावना छैन : बरिष्ठ अधिवक्ता भट्टराई

बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सभामुख कृष्ण बहादुर महराको राजीनामा नै स्वीकृत भएकोले उक्त पद रिक्त भएको बताउनुभयो । महराले ‘क्लिन-चिट’ नै लिएपनि अब सभामुखमा फर्किने सम्भावाना नभएको भट्टराईको दाबी छ ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उहाँले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक-फरक दलको र फरक लिङ्गको हुनुपर्ने पनि बताउनुभयो । अहिले संसद चालु नभएकोले अब चल्ने अधिवेशनमा संविधानबमोजिम निर्वाचन हुने उहाँले स्पष्ट पार्नुभयो । भट्टराईले यो प्रकरणमा रोशनी शाहीमाथि अविलम्ब अनुशन्धान प्रारम्भ गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुसन्धान हुन्छ, तर, पछिल्लो बयानले शाहीमाथि पनि अनुसन्धान सुरु गर्नुपर्छ । उनीमाथि विद्युतीय कारोवार ऐनअनुसार कारवाही हुनुपर्छ ।’

उहाँले मन लाग्यो भन्दैमा कसैको ईज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाइने स्पष्ट पार्नुभयो । उहाँले यदि शाही डिप्रेसनको विरामी हो भने, त्यसबारेमा पनि चिकित्सकले परीक्षण गरेर पुष्टि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘महिलाको पनि ईज्जत छ, पुरुषको पनि ईज्जत छ । रोशनीजीको कुन चाहीँ स्टेटमेन्ट सही हो ?’

उहाँले शाहीले महरामाथि लगाएको आरोप पुष्टि भयो भने कसुरअनुसार सजाय हुनेपनि जिकिर गनुभयो । उहाँले भन्नुभयो,‘जबरजस्ती करणी, गाली गलौज यी सबैमा कसुरअनुसार सजाय हुन्छ, जबरजस्ती करणीको केसमा अधिकतम १५ वर्षसम्म सजाय हुन्छ, सामान्य यौन दुव्र्यवहार हो भने ३ वर्ष र कुटपिट छ भने १ वर्षसम्म सजाय हुन्छ । कुन खालको अपराध हो, त्यो हरेर सजाय हुन्छ ।’

शाहीले आफू डिप्रेसनको विरामी भएको भन्ने कुरा पत्यारलाग्दो नभएको पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘यदि उहाँले भनेजस्तो हो भने यो कुरा मानसिक सन्तुलन गुमाएको कुरा चिकित्सकबाट प्रमाणित हुनुपर्छ ।’ उनले शाहीको भनाईलाई पनि अनुसन्धान गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close