एक सय नयाँ तथा विकास गरिने गन्तव्यको सूचीमा सिन्धुपाल्चोकको पाँचपोखरी, कसरी पुग्ने ?

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखी पर्यटन वर्ष घोषणा गरिसकेको छ । त्यसैलाई लक्षित गरी सरकारले एक सय ‘नयाँ तथा विकास गरिने गन्तव्य’को सूची तयार पा¥यो । त्यसमै परेको छ, सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्र । समुद्री सतहबाट चार हजार १०० मिटरको उचाइमा रहेको पाँच पोखरी पाँच वटा भिन्नभिन्न पोखरी रहेको स्थान हो ।

विशेषगरी जनैपूर्णिमामा मेला लाग्ने पाँचपोखरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्दछ । पाँचपोखरी मेला भर्नका लागि सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत प्रदेश नं ३ का अधिकांश जिल्लाका दर्शनार्थी आउने गरेका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा हुँदै र मेलम्ची नगरपालिका हुँदै दुई रुट भएर जान सकिने पाँचपोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्छ ।

पाँचपोखरी जाँदा जति बढी गन्तव्य नजिकिन्छ, उत्तिकै चिसो बतास चल्न थाल्छ । कान, मुख र हात नीला हुन थाल्छन् । बाटैभर भेटिने पहेँला झारबाट आउने अनौठो गन्ध तीर्थालुका लागि विष पनि हुनसक्छ । अनि लेक लाग्छ । तर, जति कष्टकर यात्राबाट पुगिन्छ त्योभन्दा आनन्द पाँचपोखरी पुगेपछि आउँछ ।

इन्द्रावती नदीको उद्गमस्थलका रूपमा रहेको पाँचपोखरीका सबै कुण्डका नामसमेत फरक–फरक छ । भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, सूर्यकुण्ड र नाग कुण्डका नामले यहाँका पोखरी चिनिन्छन् । यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगङ्गा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।

सुनपाती, धूपी, चौँरीको दूधबाट बनेको छुर्पी जस्ता चिज यहाँ पाइन्छ । गुराँस फूल्ने याममा यहाँका सबै पाखा रातै हुन्छन् । सेतो गुराँससमेत पाँचपोखरी जाने रुटमा पाइन्छ । त्यसैले यो रुटलाई पर्यटन व्यवसायीले गुराँसको राजधानीसमेत भन्ने गरेका छन् ।

कसरी पुग्ने ?

पाँचपोखरी पुग्न काठमाडौँबाट मेलम्ची भई थाङपालधाप, भोताङबाट जाने एउटा रुट छ । बर्खाको समयमा थाङपालधापको छिम्तीसम्म बसको यात्रा गर्न सकिन्छ । त्यसपछि शुरु हुन्छ पैदलमार्ग । पाँचपोखरी रहेकै साविकको गाविस भोताङको बजारसम्म बाटो सहज छ । त्यहाँसम्म पुग्दा होटल पाइन्छ ।

प्रायः पर्यटक यहाँनेर पहिलो बास बस्छन् । दोस्रो दिनदेखि शुरु हुने ठाडो उकालो र जङ्गलै जङ्गलको यात्रा केही कष्टकर रहे पनि त्यहाँको सौन्दर्यले दुःख बिर्साउँछ । यो रुटमा आमा याङ्ग्री, ड्रागन गुफा, हबेली, नागी डाँडा, रैथानेश्वरी हेर्न लायक स्थान हुन् । बस्ती छाडेर उकालो लागेपछि बीचमा पाइने चौँरी गोठबाहेक बासको विकल्प अरु छैन ।

केही तीर्थालु समुद्र सतहबाट तीन हजार २०० मिटरको उचाइमा रहेको टपखर्कमा बास बस्दछन् भने केही भने सोही दिन पाँचपोखरी पुग्दछन् । जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्ने पाँचपोखरीमा तीर्थालु बढाउन र मेलालाई सभ्यरूपले सम्पन्न गर्न स्थानीयवासी जुट्ने गरेका छन् ।

सामान्य व्यक्तिलाई उचाइमा पुगेपछि लेक लाग्ने हुँदा तीर्थालुको उद्धार तथा प्राथमिक उपचार र सहयोगका लागि स्वयंसेवक राख्ने गरिएको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए ।

उनका अनुसार पदयात्रीलाई यात्राका क्रममा कुनै अप्ठेरो परेमा स्वयंसेवीले सहयोग गर्नेछन् । अहिले केही स्थानमा टेण्टसमेत राखिएकाले बासको समस्या पहिलेको जस्तो नपरेको तेस्रोपटक पाँचपोखरी यात्राबाट फर्केका मेलम्चीका सीते तामाङले बताए ।

मेलम्चीपछि पाँचपोखरी पुग्ने अर्को रुट सदरमुकाम चौताराबाट हो । चौताराबाट रमणीयस्थान ओखरेनी, खस्रेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै जान सकिन्छ । दुई हजार २०० मिटरको उचाइ रहेको खस्रे, मैदानपछि घर भेटिँदैन । यो रुटबाट जाने तीर्थालु प्रायः च्योच्यो डाँडामा बास बस्न पुग्छन् ।

च्योच्यो डाँडा जुगल हिमाल सामुन्ने पर्छ । यो डाँडाबाट काठमाडौँ शहरसमेत देख्न सकिन्छ । दोस्रो दिन न्योसाम पाटीमा बास बसेर यो रुट हुँदै जानेहरु तेस्रो दिन पाँचपोखरी पुग्नेछन् ।

संस्कृति संवद्र्धन

पाँचपोखरी मेलाको प्रमुख आकर्षक मध्येको झाँक्री नृत्यले सबै तीर्थालुको मन जित्छ । अरुभन्दा अलग्गै किसिमको पोशाक लगाएर ढ्याङ्ग्रो ठोक्दै तामाङ भाषामा भगवान्को स्तुति गाउँदै नाचिने उक्त नृत्य तामाङ समुदायको पहिचानसमेत हो ।

हरेक वर्ष झाँकीसहित पाँचपोखरी पुग्ने गरेका चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खुका झाँक्री चीनबहादुर तामाङ त्यहाँ पुगेर पूजाआजा गरेपछि मनमा सन्तोष हुने बताउँछन् । “पाँचपोखरीमा मागेको कुरा पुग्छ, त्यसैले हरेक वर्ष झाँकीसहित जाने गरेका छौँ”, उनले भने । उनले पूजा गर्दै, नृत्य गर्दै कठिन बाटोहरुलाई सहज हुने गरी पाँचपोखरी पुगेर पूजा गर्ने गरेको सुनाए ।

झाँक्रीहरुलाई नाच्दै आफ्नो संस्कृति जोगाउनका लागि झाँकी प्रस्तुत गर्दै पाँचपोखरी पुग्न सात दिनसम्म लाग्छ । पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँचवटा पोखरी परिक्रमा गरेमा पापमोचन हुनुका साथै मनले चिताएको पूरा हुने जनविश्वास छ ।

आफ्ना झाँकीको प्रस्तुतिले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मात्रै नभई पाँचपोखरी पुगेर मन्दिरमा आफूले चाहेको कुरा पुग्नेसमेत बताउँछन्, झाँक्री दीर्घबहादुर तामाङ । “झाँक्रीहरुको नृत्यसँगै जाँदा रमाइलो मान्ने र यात्रामा अलि सहज हुने भएकाले थप तीर्थालु हुने गर्छन्”, उनी भन्छन् ।

झाँक्री नृत्य निकै रमाइलो हुने गर्छ । आफ्नै भाषा र संस्कृतिका विविध पक्षलाई झाँक्रीहरुले सङ्गीतको रूप दिएर नाचगान गर्ने गर्छन् । “झाँक्रीको नाच हेर्नकै लागि पनि पाँचपोखरी पुग्ने धेरै भेटिन्छन्”, दीर्घबहादुरले भने ।

विशेषगरी पाँचपोखरीमा जनैपूर्णिमाको अघिल्लो दिन र मङ्सिर महिनाको पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । यो मेला भर्नका लागि काठमाडौँ, ललितपुर, रसुवा, नुवाकोट, भक्तपुर र काभ्रेबाट उल्लेखनीयरूपमा सहभागी हुने गर्दछन् । हिमाली भेग भएकाले यात्रा गर्न कठिन छ । कतिपय यात्रुलाई लेक लाग्नेसमेत भएकाले सामान्य प्राथमिक उपचारका सामग्री आफैँले लैजानुपर्ने हुन्छ ।

पर्यटनको अथाह सम्भावना हुँदा पनि उचित प्रचारप्रसार नभएका कारण यो क्षेत्रमा भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन । लामो समयदेखि झाँकी प्रस्तुत गर्दै पाँचपोखरी पुग्ने गरेका अर्का झाँकी मानवीर तामाङ सडक पूर्वाधारको विकास गरे पर्यटक निकै बढ्ने बताउँछन् ।

“पैदलयात्राका लागि बाटो निकै कठिन भएकाले इच्छा भएर पनि जान नसक्ने धेरै छन्”, मानवीर भन्छन्, “स्थानीय निकाय तथा सरोकारवालाले यसतर्फ ध्यान दिनु जरुरी छ ।”

किंवदन्ती

पाँचपोखरीमा भगवान् शिवको मन्दिर छ । त्यहाँ एक शिलालेख स्थापना गरी पाँचपोखरीको बारेमा किंवदन्तीसमेत राखिएको छ । किंवदन्तीमा भनिएको छ, ‘झण्डै दुई हजार ३०० बढी वर्ष अगाडि प्रख्यात सिकारी बुम्बा वाइवा सिकार खेल्दै पाँचपोखरी पुगेका थिए । उनी त्यहाँ पुग्दा धानखेती गरिरहेको देखेछन् ।

यस्तो हिँउ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जाँदा धानखेती गर्नेमध्येका मानिस (महादेव) शिकारी बुम्बालाई देख्ने वित्तिकै सम्पूर्ण धानखेती गर्ने खेताला, यसै पाँचपोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन् । यो दृश्य देखेपछि बुम्बाले आफ्नो शिकारी कुकुरलाई लगाएको घण्टी फुकाली रोपाइँ गर्दा अलप भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्केछन् ।’

त्यसयता हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म यहाँ मेला लाग्ने गरेको हो । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको छ ।

सुकुटे सिन्धु महोत्सव फागुनमा

नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरूपमा सफल बनाउन, चौतारा साँगाचोकगढी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको विकास गर्न र सुकेटेलाई नेपालकै पर्यटन केन्द्रको रूपमा विकास गर्न यही फागुन १ देखि ७ गतेसम्म ‘सुकुटे सिन्धु’ महोत्सव हुने भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका र पर्यटन व्यवसायीहरुको प्रारम्भिक संयुक्त बैठकले सो निर्णय गरेको हो । नगरपालिका र पर्यटन व्यवसायीको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।

बैठकले महोत्सवको कार्यक्रको प्रकृति, स्थानलगायत अन्य विभिन्न विषयमा अध्ययन गर्दै कार्यक्रमको सम्भावना विस्तृत अध्ययन गर्न नगर प्रमुख अमान सिं तामाङको संयोजकत्वमा एक कार्यसमिति समेत गठन गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close