लैंगिक हिंसाविरुद्धको अभियानलाई आ–आफ्नै घरबाट निरन्तरता दिनुपर्नेः मन्त्री थममाया थापा

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले लैंगिक हिंसा सम्बन्धी कानूनहरुको पूर्ण कार्यान्वयनका लागि आ–आफ्नै घरबाट लैंगिक हिंसाविरुद्धको वर्ष अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
लैंगिक हिंसाको अन्त्य तथा लैंगिक समानता, विकास र महिला सशक्तिकरणका लागि हालसम्म प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै लैंगिक हिंसाविरुद्ध शुन्य सहनशिलता कायम गर्ने उद्देश्यले प्रदेश नं. १ बाट महिला बालबालिका तथा जेष्ठ नागरिक मंत्रालयले अभियान सुरु गर्न लागेको हो । सो अभियानलाई सफल बनाउनका लागि मन्त्रालयले विराटनगरमा आयोजना गरेको सरोकारवालाहरुसंग अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले जेठ १६ गते महिला अधिकार दिवस मनाउने जानकारी दिनुभयो । उहाँले लैंगिक हिंसामुक्त देश निर्माणमा सबैको सहयोग र सहकार्य आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नंं. १ लाई सबै किसिमको हिंसामुक्त बनाउने कार्यमा प्रदेश सरकार जुटेको जानकारी दिनुभयो। प्रदेश नं. १. लैैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारासहित सरकारले आर्थिक वर्ष ०७६/७७ भरी लैंगिक हिंसाविरुद्धको वर्ष अभियान संचालन गर्न लागेको छ ।
सो अन्तक्र्रिया कार्यक्रममा प्रदेश मन्त्रीहरु, प्रदेश सांसदहरु, प्रदेश नं. १ का विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखहरु, नागरिक समाज र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।