महिला हिंसा पुरुषबाटै बढी

पोखरा । समाजमा महिला हिंसा बढी मात्रामा पुरुषबाट नै हुने गरेको निष्कर्ष विहीबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले निकालेका छन् ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजना तथा सिविन नेपालको सहयोगमा महिला तथा बालिका उपर हुने हिंसाविरुद्ध पुरुष सहभागिता रणनीति–२०७५ तथा बाल संरक्षणविषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला तथा बालबालिकाको सुरक्षाको लागि प्रदेशले विभिन्न कार्यक्रम अगाडि सारेको बताइन् । स्थानीय सरकारसँग मिलेर समाजमा हुने महिला तथाबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्दै जाने भनाइ उनको छ ।
महिला तथा बालबालिकासम्बन्धी प्रदेश सरकारले लैङ्गिक उत्तरदायी बजेट ल्याएको बताउँदै मन्त्री पुनले कार्यविभाजन नियमावली,२०७४ ल्याएको बताइन् । गण्डकी प्रदेशलाई बालमैत्री प्रदेश बनाउने आफ्नो पहल रहने भनाइ पनि मन्त्री पुनको थियो ।
सिविनकी कार्यकारी निर्देशक सुन्निमा तुलाधरले समुदायस्तरमा महिला पुरुष समानता हुन नसकेको र नीति निर्माणकर्ताले त्यसतर्फ ध्यान दिन जरुरी भएको बताइन् ।
‘लैंगिक समानताबारे अब आवाज उठाइरहनु पर्ने अवस्था हुनुहँुदैन, संविधानले व्यवस्था गरिसकेको छ,’ तुलाधरले भनिन्, ‘महिलामाथि बढी मात्रामा पुरुषबाट नै हिंसा हुने गरेको छ, त्यस्तो हिंसा अन्त्य गर्न जरुरी छ ।’
उक्त अवसरमा सामाजिक विकास मन्त्रालय, सिविन लगायतका संस्थाले महिला तथा बालबालिकासम्बन्धी प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close