गाउँगाउँमा रोजगारी सिर्जना गर्नुपर्छः मुख्यमन्त्री

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि गाउँगाउँमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । मिदिम खोलामा निर्माण गर्न लागिएको मोटरबेल पुलको क्ब्होलासोथार गाउँपालिका– ८ को घाम्राङ बेसीमा शुक्रबार शिलान्यास गर्दै उनले त्यस्तो बताएका हुन् ।
उनले संघीयतासँगै विकासका धेरै ढोका खुलेको प्रदेश सरकारले समृद्धिका लागि ५ वर्षभित्र खाद्यन्न, मासु तथा दुध र त्यसका परिकार तथा तरकारीमा प्रदेशलाई आत्म निर्भर बनाउने योजनाका साथ अघि बढेको बताए । उनले भने, ‘त्यसका लागि उद्यम गर्न र गाउँमा रोजगारी सिर्जना गर्न आवश्यक छ ।’
उनले गरीबीको रेखा मुनीका परिवारको पहिचान गरी उनीहरू निःशुल्क स्वास्थ्य बीमा, ती परिवारका छोराछोरीलाई निःशुल्क उच्च शिक्षा एक घर एक धारा, उज्यालो प्रदेशअन्तर्गत सबै घरमा बिजुली पु¥याउने लागि परेको उल्लेख गरे । मुख्यमन्त्री गुरुङले सडकसँगै गाउँमा विकास आउँछ र त्यसले समृद्धि ल्याउँछ तर सडकमा आउने गाडीलाई रित्तो फर्काउन भएन भन्दै त्यसका लागि उद्यम गर्न र गाउँमा रोजगारी सिर्जना गर्न आवश्यक रहेको औंल्याए । उनले भने, ‘अब बाँझो जग्गामा बढी कर लाग्ने नीति प्रदेश सरकारले ल्याउँदैछ, अब जग्गा जमिन बाझो राख्न पाइने छैन ।’
गण्डकी प्रदेशसभा नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले लामो प्रतीक्षापछि यो पुल निर्माण हुन लागेको बताए । उनले भने, ‘पुलको निर्माण भएसँगै क्ब्होलासोथारवासीलाई जिल्ला सदरमुकाम तथा पोखरा जना तथा गिलुङ र भोजेवासीलाई गाउँपालिका कार्यालय जान सहज हुनेछ ।’
सो अवसरमा पूर्वाधार विकास कार्यालयका प्रमुख राम पराजुलीले उक्त पुल निर्माणको २ वर्षभित्र सम्पन्न हुने जानकारी दिँदै त्यसको लागत ७ करोड १० लाख भ्याट समेत रहेको बताए । उनले भने, ‘कार्यान्वयनका चरणमा देखिने वातावरण प्रभावको नीतिगत समस्या समाधानका लागि पहल गरिदिनु प्रदेश सरकारलाई अनुरोध गर्दछु ।’
उक्त कार्यक्रममा पुलको निर्माणको जिम्मा लिएको निर्माण कम्पनी हिमशिखर पराजुली जेभीका प्रोपाइटर सतिष पराजुलीले पुलको जग राख्नेक्रममा समस्य उत्पन्न नभए र बजेट समयमा निकासको प्रवन्ध भएमा निर्धारित समयमा आफूले निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
क्ब्होलासोथार गाउँपालिकाका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा उक्त शिलान्यास कार्यक्रम गरिएको थियो । जम्मा ७० मिटर दुरीको उक्त पुलले क्ब्होलासोथार–८ र वडा–२ का लागि सिधा जोड्ने छ । जसबाट वडा ७ र ९ का बासिन्दालाई समेत प्रत्यक्ष फाइदा पुग्नेछ ।