पोखरामा कुष्ठरोग दिवस मनाइयो

पोखरा । पोखरामा ६७ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ । कुष्ठरोग निवारण संघ पोखरा आरोग्य आश्रमले पोखरामा १८ जना कुष्ठरोगीलाई न्यानो कपडा र फलफूल वितरण गरी दिवस मनाएको हो ।
‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ भन्ने सन्देशसहित आइतबार पोखरासहित देशभर यो दिवस मनाइएको हो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले रोग आफैँमा समस्या भएपनि रोग लुकाउनु अर्को समस्या हुने बताए । उनले विभिन्न रोगसँग अन्धविश्वास जोडिएका पनि बताए । उनले नेपाली समाजमा अझैपनि अन्धविश्वासले गर्दा रोगी मानिसले उचित उपचार नगराउने गरेको सुनाए । रोग निवारणका लागि मानिसमा भएको अन्धविश्वास पनि हटाउनु पर्ने उनले स्पष्ट पारे ।
कार्यक्रमका सभाध्यक्ष कुष्ठरोग निवारण संघका उपाध्यक्ष सुभास तझ्याले कुष्ठरोग लुकाएर बस्नु भन्दा ती संस्थामा गएर उपचार गर्नु उचित हुने बताए । उनले नेपालका ५ ठुला सहरमा संघले आफ्नो सेवा दिईरहेको जानकारी दिए ।
कार्यक्रममा हरियोखर्क अस्पतालका प्रशासक विजय बराल, स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग निरीक्षक लक्ष्मण बसौला, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भाष्कर भट्टराईले कुष्ठरोगीलाई हेरिने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिए । १९४५ देखि मनाउन सुरु गरिएको यो दिवस हरेक जनवरी महिनाको अन्तिम आइतबार मनाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close