गृहकार्य नगरेको भन्दै कुटपिट

नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–५ भानुदय मावि कक्षा ८ का १६ वर्षीय बालक रेजन खाम्चालाई गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपिट गरेका छन् ।
आफ्नो छोरालाई विद्यालयका कम्प्युटर शिक्षक शिव केसीले कुटपिट गरेको भन्दै पीडित आमा वसन्ती खाम्चाले मंगलबार प्रहरीमा उजुरी दिएकी छन् ।
‘रुघाखोकीले बिरामी भएपछि माघ १३ मा रेजन विद्यालय गएका थिएनन् । सञ्चो भएपछि भोलिपल्ट जाँदा सातौं घण्टीमा शिक्षक केसीले अघिल्लो दिनको होमवर्क खै भन्नुभएछ । छोराले कहिलेको होमवर्कभन्दा सरले पहिले लौरी र पछि हातले कुटपिट गर्नुभएछ,’ आमा वसन्तीले रुँदै भनिन्, ‘साँझ छोरा घर आउँदा बायाँतर्फको कान सुन्निएको थियो।’
कुटाइका कारण दुख्न कम नभएको र कान सुन्निन थालेपछि उपचारको लागि छोरालाई भरतपुर सामुदायिक अस्पताल चितवन लगेकोमा विशेषज्ञसँग जान सुझाव पाएपछि माघ १६ गते लुम्बिनी अस्पताल एण्ड टेक्निकल कलेज बुटवलमा लगिएको वसन्तीले बताइन् । कुटपिटबाट छोराको कानको जाली चर्केको र कानमा रगत जमेको देखिएको उनले जानकारी दिइन् ।
घटनाबारे विद्यालय प्रशासनमा जानकारी गराइ उपचारको लागि आग्रह गर्दा उल्टै विद्यालय प्रशासनबाट आफूहरुलाई अन्तै कतै उजुरी नगर्न भन्दै धम्की दिएको वसन्तीले बताइन् । उनले छोरालाई कुटपिट गर्ने शिक्षक शिव केसीलाई कानूनी कारबाही गर्न माग गरेकी छन् ।
उनले आवश्यक सहयोग गर्नको लागि भन्दै इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा समेत मंगलबार उजुरी दिएकी छन् ।
विद्यालयका प्रअ तेजप्रसाद भुसालले घटना भएको स्वीकार्दै आवश्यक छलफल र पीडित रेजनको उपचारको लागि आफूहरु तयार रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर गणेशबहादुर नराल क्षेत्रीले पीडित पक्षबाट प्रहरीमा निवेदन प्राप्त भएको र हाल घाउँजाचको लागि मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा पठाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close