रसुवागढी भन्सारबाट दैनिक सात कन्टेनर मात्र नेपाल भित्रदैं

पोखरा। तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट दैनिक सात कन्टेनर सामग्री नेपाल भित्रिएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् ।

ती नाकाबाट निर्माणका सामग्रीदेखि तयारी पोशाकसम्म भित्रिएका छन् । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा  आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय रसुवागढी नाकाबाट जलविद्युत्का लागि आवश्यक सामग्री आएको छ ।

केही दिनयता  चीनबाट आयात भइरहे पनि  साविकमा जस्तो सहजरूपमा आयात भएको छैन । नाकामा कार्यरत सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको उनको भनाइ छ ।

‘हामीले नाकामा कार्यरत २०० भन्दा बढी कर्मचारीलाई गत महिना नै पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाइसकेका छौँ । नाकामा कार्यरत श्रमिकलाई स्वास्थ्य सुरक्षा अपनाउँदै छुट्टै राखेका छौँ । कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा अझै समस्या हुने गरेको छ। उनले भने  ‘रसुवा जिल्ला नै दुई महिनायता कोरोना सङ्क्रमणमुक्त हुँदासमेत चिनियाँ पक्षको अवरोध कम भएको छैन ।’

जति प्रयास गरे पनि चिनियाँ पक्षको विश्वास जित्न नसक्दा आयातमा अवरोध हुने गरेको छ । कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो । तातोपानी नाकाबाट पछिल्लो समय रासायनिक मल आयात भएको भन्सार कार्यालयले जनाएको छ । ल्होसारपछि नाका पुनः सञ्चालनमा आएयता दैनिक सात चिनियाँ कन्टेनर नेपाल भित्रिने गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार सात कन्टेनरमध्ये पाँच कन्टेनरमा रासायनिक मल आयात भएको छ । लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो । चिनियाँ सामग्री आयातमा अवरोध गर्दै आएको चिनियाँ पक्षले निर्यातमा कुनै पहल नगरेको रसुवागढी भन्सार प्रमुख रेग्मी बताउँछन् । ‘हामीले विभिन्न समयमा निर्यातको पहल गर्दै आएका छौँ तर चिनियाँ पक्षले चासो नदेखाउँदा एक वर्षदेखि निर्यात बन्द भएको छ ।’

रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात बन्द भए पनि भूकम्पपछि तातोपानी नाकाबाट निर्यात ठप्प छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close