पशुपतिनाथमा बिहानैदेखि महाशिवरात्रिको रौनक

काठमान्डौँ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइँदै छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा-भक्तिपूर्वक पूजा-आराधना गरिरहेका छन् । पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।

आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । हिन्दु धर्मावलम्वीहरूको आस्थाको केन्द्र पशुपतिनाथमा बिहानैदेखि महाशिवरात्रिको रौनक छ । कोरोना महामारीका कारण सीमित संख्याबाहेकले यस वर्ष दर्शन गर्न नपाउने भए पनि पाशुपत क्षेत्रमा विहानैदेखि दर्शनार्थीको भीड छ ।

भगवान शिवको दर्शनका लागि अधिकांश दर्शनार्थीहरू मास्क लगाएर लाइनमा बसेका छन् । भक्तजनको सुविधाका लागि बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए ।

यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल-तिलगङ्गा, पिङ्गलास्थान-सुमार्गीभवन अगाडिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीनरतीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close