अब फेरि देशव्यापी अभियान चलाउने : (माओवादी केन्द्र) अध्यक्ष दाहाल

पोखरा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि क्रान्तिको बाटो रोज्ने चेतावनी दिएका छन् । उनले अझै उमेर बाँकी रहेको तर्क पेश गर्दै फेरि क्रान्तिमा होमिने चेतावनी दिएका हुन् ।
आज तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी स्वास्थ्यकर्मीको भेलालाई सम्बोधन गर्दै ‘प्रचण्डले भने’ ‘कतिपले उमेर पुगेकाले छोड्नु पर्छ भन्ने गरेका छन् । जनयुद्ध शुरु गर्दा म ४२ – ४३ वर्षको थिएँ । अहिले ६७ वर्षको भएँ । क्रान्ति गर्ने उमेर बाँकी नै छ । म त्यसै छाड्नेवाला छैन ।’
चीनमा माओले ७२ वर्षको उम्मेरमा सांस्कृतिक क्रान्तिको नेतृत्व गरेको भन्दै ‘प्रचण्डले भने’ ‘माओले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटि फेरि क्रान्तिमा जानेछु । तपाईंहरु यो कुरामा विश्वस्त हुनुहोला, म त्यसै छाड्नेवाला चाहिँ छैन । म लड्नेवाला नै छु । मैले अहिले पनि एउटा ब्याटल त लडेँ । त्यो ब्याटल त हामीले नै जित्यौं ।’
नयाँ खोज्दै जाँदा आफ्नै पुराना साथीहरुलाई भुल्दा कमजोर भइएको भन्दै प्रचण्डले फेरि आफ्नै धर्तीमा जोडिने बताए। ‘प्रचण्डले भने’ ‘हामीले योसँग मिलेर होला कि, त्योसँग मिलेर होला कि भनेर धेरै गरियो। तर, आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै हो ।’
प्रचण्डले अब फेरि देशव्यापी अभियान चलाएर केही समय काठमाडौं भन्दा बाहिरै बस्ने सोचेको समेत बताए। ‘उनले भने अब फेरि देशव्यापी अभियान चलाउनेतिर मैले सोचिरहेको छु । म काठमाडौं भन्दा अभियानमा बढी बस्ने विचार छ। फेरि दुई चार वर्ष जनताको बीचमा गएर देशभित्र र बाहिरका प्रतिक्रियावादीविरुद्ध आन्दोलन गर्नुपर्छ ।’ ओलीविरुद्ध जानीजानी १९ पेज आरोप लेखेको भन्दै ‘ब्याटल’ जिते पनि ‘वार’ हारेको बताए ।