पूर्वी-नवलपुरमा जनगणना कार्यालय स्थापना

नवलपुर । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ शुरु गर्न लागेकोले देशैभर जनगणना कार्यालयहरु स्थापना गर्ने क्रम शुरु भएको हो ।

यसअघिबाटै जनगणनाका आन्तरिक कार्यहरु भइरहेको भए पनि जिल्लामा कार्यालय स्थापना गरी मंगलबारबाट औपचारिक रुपमा कार्य शुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागका अधिकृत तथा नवलपुरका जनगणना अधिकारी जितेन्द्र रानाभाटले बताए ।

जिल्ला कार्यालय स्थापना गरिएसँगै गणकहरु नियुक्त गर्ने प्रक्रिया पनि शुरु गरिने उनले बताए । यहि चैत ५ गतेदेखि चैत ११ गतेसम्म गणक तथा सुपरिवेक्षक पदमा आवेदन दिन सकिने रानाभाटले बताए ।
उनकाअनुसार कर्मचारी नियुक्तीमा स्थानीय र महिलालाई विषेश प्राथमिकता दिइने छ । नवलपरासी पूर्वी जिल्लाका लागि ४ सय ७२ जना गणक र १०४ जना सुरपरिवेक्षकको माग रहेको छ ।

२०७८ बैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधीमा सुपरिवेक्षकहरुबाट घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि असार ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मुल गणनाको काम हुने र असार ८ गते जनगणना दिवस मनाउने गरी काम हुने रानाभाटले जानकारी दिए ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने जनाइएको छ । नेपालमा हरेक दशरदश वर्षमा जनगणना गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close