अर्काको भाग कांग्रेसले लिएर बस्न नहुने, कांग्रेसका युवा नेता गगन थापा

स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेसले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाएर कांग्रेसले मुलुक सञ्चालन गर्नुपर्ने बताएका छन् । नेता थापाले सरकार बनाउने कांग्रेसका लागि बाध्यता नभइ कर्तव्य भएको स्पष्ट पारे । नेपाल तरुण दल स्याङ्जा भीरकोट नगरपालिका इकाइ समितिले आयोजना गरेको आमसभालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसले छोटो समयका लागि भए पनि आफ्नो नेतृत्वमा सरकार बनाएर देशलाई निर्वाचनतर्फ लैजानुपर्नेमा जोड दिए । अर्काको भाग कांग्रेसले लामो समयसम्म लिएर बस्न नहुने उनले बताए । ‘उनले भने, ‘कांग्रेसले सरकार बनाउने जिम्मेवारी लिंदै गर्दा अरुको भाग लामो समयसम्म लिएर बस्न हुँदैन । किनकि यो सरकार चलाउने जिम्मेवारी कांग्रेसले होइन नेकपाले नै पाएको हो ।’

नकपाले सरकार चलाउन नसकेपछि र नेकपा विधिवत रुपमा विसर्जन भएपछि अब कांग्रेसले सरकारको दावी गर्नुपर्नेमा जोड दिए । नेता थापाले कांग्रेसले सरकार बनाएर सुशासन, जनतालाई गरिबीबाट मुक्त गराउने, संविधानलाई लिकमा ल्याउने र देशलाई चुनावमा लैजानुपर्ने बताए । कांग्रेसले अब मुलुक हाँक्दै गर्दा कुनै पनि गल्ती नगरी मुलुकलाई यो संकटबाट पार लगाउनुपर्नेमा नेता थापाको जोड छ ।

नेकपाको मृत्यु भएको दिन कोही पनि मलामी नगएको, कोही पनि दुःखी नभएको भन्दै एमाले र माओवादी भएर लोक गीत गाएको, भोज खाएको भन्दै नेता थापाले टिप्पणी गरे । अब नेकपाले सरकार चलाउने वैधानिक बाटो सकिएको भन्दै उनले अब एक दिन पनि केपीलाई सत्ता बस्न दिन नहुने बताए । उनले भने, ‘अब ओलीलाई देश चलाउन दिनु भनेको मुलुकले थप क्षति व्यहोर्नु हो ।’

नेपाल तरुण दलका सभापति जितजंग बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओलीलाई प्रधानमन्त्री बनाउने बेलादेखि नै संविधान कुल्चने काम गर्दै आएको बताए ।

उनले पञ्चायती मण्डले संस्कृतिबाट हुर्किएका कम्युनिष्टसंग कांग्रेसले कदापि सहकार्य गर्न नहुने बताए । अध्यक्ष बस्नेतले जंगलबाट हाल शान्ति प्रक्रियामा आएका कम्युनिष्टको हतियार कहाँ गयो भनेर प्रश्न गरे ।

जंगलमा रहेका, सडकमा रहेका र सत्तामा रहेका सबै कम्युनिष्ट एउटै भएको भन्दै कांग्रेसलाई प्रमुख शत्रु भन्ने कम्युनिष्टसंग कांग्रेसले कुनै पनि हातलमा सहकार्य गर्न नहुने बताए । पूर्व सांसद राजु थापाले यो मुलुकलाई कांग्रेसबाहेक अन्य कसैले पनि हाक्न नसक्ने ठोकूवा गरे ।

कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धि राना, सांसद मेखलाल श्रेष्ठ, भागवत प्रकाश मल्ल, नेपाल महिला संघकी उपसभापति सरस्वती तिवारी, पार्टीका महासमिति सदस्य भोजराज अर्याल, भीरकोट नगरपालिकाका मेयर छायाराम खनाल, नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना, युवराज पाण्डे, कांग्रेस नेता झलकबहादुर विक, भरत लम्साल, दीपेन्द्र केसी, महेश भट्टराई, तरुण दलका क्षेत्रीय सभापति कुमबहादुर गुरुङ, जिल्ला सदस्य तारा प्रसाद अर्याल र नगर सभापति राजकुमार गुरुङ लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close