नेपालमा हरेक वर्ष थपिन्छन् क्षयरोगका ६९ हजार बिरामी

पोखरा । आज मार्च २४, विश्व क्षयरोग दिवस । आम नागरिकलाई क्षयरोगको प्रभावबारे सुसूचित गराउने र भविष्यमा यस रोगबाट बच्न जनचेतना अविृद्धि गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाइन्छ ।

यस वर्षको नारा ‘संकेत समयको, क्षयरोग अन्त्यको’ रहेको छ । माइक्रोब्याक्टेरियाका विभिन्न स्टेनका कारणले हुने भए पनि मुख्यतया ‘माइक्रोब्याक्टेरियम ट्युबरक्युलोसिस’ नामको ब्याक्टेरियाको कारणले क्षयरोग लाग्छ । यो सरुवा रोग हो ।

सामान्यतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्य भागहरूमा पनि असर पुर्‍याउन सक्छ । यो रोग लागेका मानिसहरूमा सक्रिय कीटाणुहरू हुन्छन् । रोगीले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्कने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्छ ।

विश्वभर हरेक वर्ष एक करोड मानिस क्षयरोगबाट संक्रमित हुने गरेका छन् । क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिन्छन् । क्षयरोगकै कारण दैनिक ४७ जनाले ज्यान गुमाउने गरेका छन् । हाल नेपालमा नयाँ तथा पुराना क्षयरोगका बिरामीको संख्या करिब १ लाख १७ हजार जना रहेको अनुमान छ ।

आर्थिक वर्ष २०७६ र ७७ मा १ लाख ५५ हजार ३७१ जना क्षयरोगका सम्भावित व्यक्तिहरूको विभिन्न विधिबाट परीक्षण गर्दा २७ हजार ७४५ जना नयाँ बिरामी फेला परेका थिए । उनीहरूको उपचार राष्ट्रिय क्षयरोग कार्यक्रमको नीतिअनुसार भइरहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

वार्षिक थपिने र उपचारमा आएका बिरामीको तथ्यांक हेर्दा उपचारको दायरामा नआएका करिब ४१ हजार बिरामीलाई उपचारमा ल्याउनुपर्ने केन्द्रका निर्देशक डा। अनुज भट्टचनले बताए ।

क्षयरोग कार्यक्रमको उपचार प्रक्रियामा नआएका बिरामी पत्ता लगाई उपचारमा ल्याउन राष्ट्रिय क्षयरोग कार्यक्रमलाई चुनौती देखिन्छ । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य प्रणालीमार्फत जम्मा ४ हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा तथा ७६५ प्रयोगशाला र ६२ वटा जीन एक्सपर्ट एवं २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोग निदान सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै औषधि प्रतिरोधी क्षयरोगका २२ वटा उपचार केन्द्र, ८१ वटा उपचार उपकेन्द्र, ६ वटा डिआर होस्टल, एउटा डीआर होम, एउटा ट्युबरक्युलोसिस ट्रिटमेन्ट एण्ड रिफेरल म्यानेजमेन्ट सेन्टरमार्फत सेवा दिँदै आएको छ ।

डा.भट्टचनका अनुसार नेपालमा औषधि प्रतिरोधी (डीआर) क्षयरोगका बिरामीको संख्या बढ्दो क्रम छ । ‘उनले भने, ‘सामान्य क्षयरोगमा सय जनाको उपचार गर्‍यौँ भने ९० प्रतिशत पूर्णरूपमा निको हुन्छन्, जो ट्रिटमेन्टको दायरामा छन् । तर डीआर क्षयरोगमा त्यस्तो हुँदैन, औषधि पाउन सकेनन् भने मृत्यु नै हुन्छ ।’

विश्व स्वास्थ्य सङ्गठनको आकलनअनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोगका विरामी वार्षिक करिब २ हजार २०० थपिने गर्छन् । गत आर्थिक वर्ष यस्ता ३ हजार ८४ जना बिरामीलाई नियमित उपचारमा ल्याइएको उनले बताए ।

बिरामीको संख्या हेर्दा उपचारको दायरामा आएकाको संख्या अत्यन्त न्यून हो । अझै औषधि प्रतिरोधी क्षयरोगका ८३ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउनु यस कार्यक्रमका लागि ठूलो चुनौती देखिन्छ । देश संघीय संरचनामा गएपछि जनशक्ति व्यवस्थापनमा केही समस्या देखिएकाले क्षयरोग कार्यक्रमको व्यवस्थापन र सञ्चालन गर्न चुनौती रहेको डा। भट्टचन बताउँछन् ।

क्षयरोग निर्मूलको योजना

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको क्षयरोग निवारण रणनीति अवलम्बन गरी पञ्चवर्षीय राष्ट्रिय रणनीति योजना बनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरेको जनाएको छ ।

त्यस्तै, सबै प्रकारका क्षयरोगका बिरामीको उपचार सहज बनाउन भक्तपुरको ठिमीमा केन्द्रस्तरको छाती रोग अस्पताल निर्माणको क्रममा रहेको उनले जानकारी दिए । ‘डा.भट्टचनले भने, ‘अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने संरचना, मानव स्रोत तथा औषधि उपकरणको व्यवस्था गरी आगामी आर्थिक वर्ष २०७८ र ७९ देखि सञ्चालनमा ल्याइनेछ ।’

त्यस्तै केन्द्रले आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा क्रमशः क्षयरोग कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी सोहीअनुरूप स्थानीय तहलाई ‘क्षयरोगमुक्त स्थानीय तह घोषणा’ गर्ने तयारी गरेको छ ।

यस्तो घोषणाका लागि मन्त्रालय र विभागस्तरमा पठाउन केन्द्रले निर्देशिका तयार गरेको र आर्थिक वर्षमा त्यसको संरचना प्रदेश र स्थानीय तहमा पुग्ने डा। भट्टचनले बताए । ‘उनले भने, त्यसमा स्थानीय तहले आफ्ना मातहतभित्र क्षयरोगको अवस्था के छ र कसरी निर्मूल बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरेर जनशक्ति खटाउनेछन् । अभियानका रूपमा काम शुरू गर्ने केन्द्रको रणनीति छ ।’

सरकारले क्षयरोगको उपचार सहज बनाउन बिरामीलाई यातायात तथा पोषण भत्ता ३ हजार रुपैयाँ दिने गरेको छ । त्यस्तै, आवासमा बसी उपचार गराइरहेका बिरामीलाई विभिन्न सिपमूलक तालिमसमेत दिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close