महिला उद्यमी संघ, कास्कीको अध्यक्षमा रेग्मी सर्वसम्मतले चयन

पोखरा । महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा पार्वती पौडेल रेग्मी सर्वसम्मत चयन भएकी छिन् ।

सोमबार सम्पन्न संघको छैठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट रेग्मी अध्यक्षमा चयन गरिएको हो । त्यसैगरी, प्रथम उपाध्यक्षमा प्रतिभा गैरे, द्वितीय उपाध्यक्षमा शारदा बराल “सरु”, महासचिवमा एलिना बराल र कोषाध्यक्षमा चन्द्रा शर्मा चयन भएका छन् ।

सबै पदमा सर्वसम्मत पारित भएपनि कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । कोषाध्यक्षमा निर्वाचित चन्द्रा शर्माले १८ मत र पराजित भएकी गोमा आचार्यले ८ मत प्राप्त गरेकी छिन् ।
दुई जना सदस्यमा भने मीना प्रधान र बालकुमारी गुरुङ चयन भएका छन् ।

नौ सदस्यीय कार्यसमितिको बाँकी दुई जना सदस्य पछि मनोनित गरिने संघका प्रावधान रहेको छ । संघकी सल्लाहकारद्वय सीता गुरुङ संयोजक र कुलदेवी बराल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गराएको हो ।  अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले महिलाहरूलाई आत्मनिर्भर बनाउन र उद्यमशील बनाउन आफ्नो नेतृत्वमा महिला उद्यमी संघ कास्कीको स्थापना गरेको बताए ।

महिलाहरू आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्ने बताउँदै प्रदेशसभा सदस्य गुरुङले उत्पादनमा अनिवार्य जोडिनुपर्ने उल्लेख गरेका छन् । साथै, अब हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता गराउनुपर्ने आवश्यकता समेत औंल्याएका हुन् ।

साथै, महासचिव प्रतिभा गैरेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष शारदा बराल “सरु”द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मरुपमो पारित पारित भएको छ ।

कार्यक्रममा महिला उद्यमी संघ, कास्कीलाई विभिन्न क्षेत्रमा योगदान दिने व्यक्ति तथा संघसंस्थालाई सम्मान समेत गरिएको थियो । निवर्तमान अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रतिभा गैरेले गरेका थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close