गुल्मीमा विद्यालय बन्द, ट्युशन खुल्ला

गुल्मी। सरकारले चैत १७ गतेदेखि २० गतेसम्म वायु प्रदूषणका कारण देशभरका विद्यालय बन्द गराएको छ । सरकारको निर्देशनानुसार विद्यालय बन्द भए पनि गुल्मीमा विद्यालयकै कक्षा कोठामा ट्युसन भने सञ्चालन भइरहेको पाइएको छ ।

गुल्मीको सदरमुकाम तम्घासमा एकाबिहानै विद्यार्थीहरु अनौपचारिक पोसाकमा निस्कन्छन् । तीमध्ये कोही विद्यालयभित्र त कोही शिक्षक बस्ने घरभित्र पसेको  देखिन्छ । पहाडी जिल्लामा वायु प्रदूषणको खासै असर नपर्ने  भएकोले विद्यालय बन्द गराउन आवश्यक नरहेको  सरोकारवालाको भनाइ छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे कोरोना संक्रमणका बेला र अहिले पनि सरकारले विद्यालय बन्द गराएको बेला ट्युसन कक्षा सञ्चालन भइरहेकाले पहाडी जिल्लाको हकमा सरकारद्वारा विद्यालय बन्दको कुनै अर्थ नरहेको बताउँछन् ।

‘नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम नारायण भण्डारी भने’  ‘विद्यालय बन्द भए पनि ट्युसन कक्षा सञ्चालन भइरहेको सूचना प्राप्त भएको छ ।’ तम्घासकै रेसुङ्गा माविका प्रधानाध्यापकसमेत रहेका भण्डारीले आफ्नो विद्यालयमा भने त्यसो नगरिएको दावी गरे ।

कतिपय सामुदायिक विद्यालयले निःशुल्क ट्युसन चलाएको  दावी गरे पनि अधिकांश शिक्षकले बिदामा सरकारी तलव र अर्कोतिर ट्युसनको दोहोरो कमाई गर्ने अवसर पाएका  छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close